ललितपुर — जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिचानका आधारमा प्रदेशहरुको पुनः नामकरण हुनु पर्ने माग गरेका छन् । देशव्यापी जनताको मागलाई बेवास्ता गरी सरकारले पहाड नदी खोला नालाको नाममा प्रदेशको नामकरण गरेकोमा उनले असन्तुष्टि व्यक्त गरे ।
ललितपुरको महालक्ष्मीस्थानमा शनिबार समाजवादी तामाङ संघले आयोजना गरेको नयाँ वर्ष सोनम् ल्होछार कार्यक्रमलाई सम्बोधन गर्दै पहिचानका आधारमा प्रदेशलाई नामाकरण गर्न सरकारले ढिलाई गर्न नहुने बताए ।
‘पहिचानका लागि पूर्वी नेपालमा जारी आन्दोलनलाई जनताको माग अनुसार सम्बोधन गर्नुपर्नेमा जोड दिँदै उनले मधेश बाहेक बाकी ६ वटै प्रदेशमा पहिचान आधारित पुनः नामकरणको आन्दोलनले विस्फोटक रुप लिन सक्ने दाबी गरे ।
मधेशका जनताको ठूलो संघर्ष र बलिदानीले मात्रै सो प्रदेशको नाम मधेश प्रदेश सम्भव भएको स्मरण गर्दै उहाँले पहिचानको मागलाई बेवास्ता नगर्न सरकारलाई सचेत गराए ।
मधेशी, आदिवासी जनजाति, दलित, सीमान्तकृत जनताले अधिकार र पहिचानका लागि संयुक्त रुपमा संघर्ष गर्नुपर्नेमा उनले जोड दिए । ‘एक्लै लडेर हुँदैन, अधिकार प्राप्तिका लागि सबै उपेक्षित जनता एक ठाउँमा उभिनुपर्छ,’ उनले भने ।
प्रतिक्रिया