राजश्व असूली दर घट्दो

न्यूजडेस्क     २०८० फाल्गुन ५, शनिबार २१:३० मा प्रकासित


पर्सा — आर्थिक शिथिलताका कारण वीरगन्ज भन्सार तथा सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयको राजश्व असूली दर झन् घट्दो छ । सामान्य अवस्थामा वीरगन्ज भन्सार मुलुककै सर्वाधिक र सुक्खा बन्दरगाह भन्सार पनि प्रमुख ५ भन्सारमा पर्छ ।

चालु आवमा भने यी दुबै भन्सारलाई कुनै पनि महिनामा लक्ष्य अनुरुप राजश्व संकलन गर्न सकस भइरहेको छ । भन्सार विभागले तोक्दै आएको मासिक लक्ष्य भेट्टाउन असफल हुँदा यी भन्सारले चालु आवको राजश्व लक्ष्य भेट्टाउन नसक्ने निश्चित प्रायः छ ।

वीरगन्ज भन्सार कार्यालयले माघ महिनामा लक्ष्यको ५९ दशमलव ९४ प्रतिशतमात्र राजश्व संकलन गर्‍यो । यो महिनामा १९ अर्ब ७४ करोड १३ लाख ९९ हजार रुपैयाँ लक्ष्य राखेको यो भन्सारले ११ अर्ब ८३ करोड २७ लाख ५८ हजार रुपैयाँ मात्र राजश्व संकलन गर्‍यो ।

चालु आवमा माघ महिनासम्म १ खर्ब ३९ अर्ब ८१ करोड ७४ लाख ६७ हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य राखेको यो भन्सारले यसअवधिमा लक्ष्यको ६१ दशमलव ९२ प्रतिशत मात्र अर्थात ८६ अर्ब ५७ करोड ७५ लाख ३८ हजार रुपैया राजश्व संकलन गरेको छ । चालु आवभरीमा यो भन्सारले २ खर्ब ४५ अर्ब ८८ करोड ५० लाख ८२ हजार रुपैया राजश्व संकलन गर्ने लक्ष्य पाएको छ ।

सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयले माघ महिनामा ५ अर्ब ३५ करोड ८९ लाख २ हजार रुपैया राजश्व असूलीको लक्ष्य राखेकोमा ३ अर्ब ७४ करोड ४७ लाख ५ हजार रुपैया मात्र राजश्व असूली गर्न सकेको छ । जुन लक्ष्यको ६९ दशमलव ८८ प्रतिशत मात्र हो ।

त्यसैगरी, चालु आवको माघसम्म ३७ अर्ब ६३ करोड ७० लाख १० हजार रुपैया राजश्व असूलीको लक्ष्य पाएको यो भन्सारले यस अवधिमा लक्ष्यको ७५ दशमलव ८४ प्रतिशत मात्र अर्थात २८ अर्ब ५४ करोड २२ लाख ५२ हजार रुपैया मात्र राजश्व असूली गर्न सकेको छ । चालु आवका लागि यो भन्सारले ६५ अर्ब ९४ करोड १ लाख २२ हजार रुपैया राजश्व असूलीको लक्ष्य पाएको छ ।

वीरगन्ज भन्सार कार्यालय प्रमुख प्रशासक डिलाराम पन्थीले समग्रमै आयात घटेकाले त्यसको प्रभाव राजश्वमा प्रत्यक्ष परेको बताए । ‘वीरगन्ज नाकामा सर्वाधिक राजश्वमा योगदान गर्ने प्रमुख दुई बस्तु नया सवारी साधन र इन्धन हुन्,’ उनले भने, ‘हाल यी दुबै बस्तुको आयात घटेको छ, यसबाहेक अन्य बस्तुको पनि आयात घट्दो क्रममा छ ।’

 


प्रतिक्रिया




Top