चालु आर्थिक वर्षको ७ महिनामा ७५ हजार मेट्रिक टन बढी युरिया र डिएपी मल साल्टले भित्र्यायो

न्यूजडेस्क     २०८० फाल्गुन ४, शुक्रबार ०६:४८ मा प्रकासित


पर्सा — साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले चालु आर्थिक वर्षको ७ महिनामा ७५ हजार मेट्रिक टन बढी युरिया र डिएपी मल भित्र्याएको छ । कर्पोरेशन मधेश प्रदेश कार्यालय वीरगन्जका प्रमुख अमोज लामिछानेका अनुसार, चालु आवमा ग्लोबल टेण्डरबाट ३ वटा कन्साइन्मेन्टमा गरी ४५ हजार ६ सय मेट्रिक टन युरिया र ३० हजार मेट्रिक टन डिएपी मल भित्रिएको छ ।

भारतको इन्डियन पोटास लिमिटेडले पहिलो कन्साइन्मेन्टबाट २४ हजार मेट्रिक टन युरिया र स्विस सिंगापुर कम्पनीले दोश्रो कन्साइन्मेन्टबाट २१ हजार ६ सय मेट्रिक टन युरिया मल आपूर्ती गरेको लामिछानेले जानकारी दिए ।त्यसैगरी, नेपाली कम्पनी कमोडिटी फर्स्ट डिएमसिसिले ३० हजार मेट्रिक टन डिएपी मल आपूर्ति गरेको उनले बताए ।

कार्यालयले मातहतका जिल्लाहरुमा माग तथा कोटा अनुरुप युरिया र डिएपी मल परिचालन गरिरहेको र हाल कर्पोरेशनको वीरगन्जस्थित गोदाममा ५ हजार मेट्रिक टन युरिया र ३ हजार २ सय ५० मेट्रिक टन डिएपी मल मौज्दात रहेको लामिछानेले बताए ।कार्यालयले मधेश,बागमती र गण्डकी प्रदेशका समेत गरी डेढ दर्जन बढी जिल्लामा मल परिचालन गर्दै आएको छ ।


प्रतिक्रिया




Top