सर्लाही — सर्लाहीको हरिवनबाट प्रहरीले बिहीबार १ लाख ७२ हजार नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट जिल्लाको माधवनारायण नगरपालिका–२ का ३६ वर्षीय संजय सहनी र सर्लाहीको बलरा नगरापालिका–७ का २७ वर्षीय अमरेन्द्र महरा छन् ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश–०२–०२७प४२५६नम्बर र बीआर ३०एसी ८३१८ भारतीय नम्बरको मोटरसाइकललाई प्रहरीले सुराकीको आधारमा नियन्त्रणमा लिएको हो । ४२५६ नम्बरको मोटरसाइकलमा सवार सहनीले बोकेको कालो खैरो रङको झोला जाँच गर्नेक्रममा २५ वटा बण्डल प्लास्टिकले ¥याप गरेको अवस्थामा प्रहरीले फेला पारेको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए । उनका अनुसार २१ बण्डलमा बीचमा पेपर तल र माथि केही हजार दरका नक्कली नोट र ४ वटा बण्डलको तल र माथि केही हजार दरका नक्कली नोट तथा बीचमा टेस्टी बिस्कुटको पुरीया फेला परेको छ । २५ वटा बण्डलमा कूल १ सय ७२ थान हजार दरका नक्कली नोट फेला परेको प्रहरी निरीक्षक गिरीले बताए ।
यस्तै भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार सर्लाहीको बलरा नगरपालिका–७ का २७ वर्षीय अमरेन्द्र महराको साथबाट ८ ग्राम ८१० मिलीग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरु साथी रहेको र लालबन्दीतर्फ जाँदै गरेको खुलेको छ । नक्कली नोटको कारोबारमा अन्य पनि संलग्न रहेको आशंकासहित अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।
प्रतिक्रिया