बौद्धिक पलायनको भयावह परिस्थिति रोक्नुपर्नेः प्रधानमन्त्री दाहाल

न्यूजडेस्क     २०८० माघ १८, बिहीबार १२:१० मा प्रकासित


काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले बौद्धिक पलायनको भयावह परिस्थिति रोक्नुपर्ने बताएका छन् । बिहीबार राजर्षि जनक विश्वविद्यालयको सातौँ सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले रचनात्मक तत्परताबाट पलायन रोक्न सकिने बताएका हुन् ।

राजर्षि जनक विश्वविद्यालयबाट बाहिर निस्कने प्रत्येक स्नातकमा शिक्षाको वर्तमान तस्बिर र भविष्य अन्तर्निहित हुने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले शिक्षा पद्धतिलाई यगानुकूल परिस्करण गर्दै लैजानुपर्नेमा जोड दिए । राष्ट्रको नेतृत्व गर्न योग्य जनशक्तिको उत्पादन आजको प्रमुख कार्यभार भएको उल्लेख गर्दै उनले शिक्षामा गुणात्मक सुधार ल्याउनुपर्ने बताए ।
प्रधानमन्त्री दाहालले विश्वव्यापीकरणको सबैभन्दा ठूलो प्रभाव शिक्षा क्षेत्रमा परिरहेको वर्तमान परिप्रेक्ष्यमा विश्वविद्यालयहरूको नीति, पाठ्यक्रम, शिक्षा विधि, कार्यशैलीमा गुणात्मक सुधार गर्नुपर्ने अवस्था आएको बताए । उनले भने, ’नवप्रवर्तनमा आधारित प्रतिस्पर्धी शिक्षामा जोड दिनुपर्छ मेरो अपेक्षा त्यही छ ।’
विश्वविद्यालय स्थापनाको छोटो अवधिमा प्राविधिक विषयका चिकित्सा शिक्षा, व्यवस्थापन र कम्प्युटर प्रविधि विषयहरूमा स्नातक र स्नातकोत्तर तहको शैक्षिक कार्यक्रम सञ्चालन गरेकोमा आभार प्रकट गर्दै अपेक्षित सफलताका निम्ति क्रियाशील हुन प्रधानमन्त्रीले सुझाव दिए ।
विश्वविद्यालयको जग्गा र भवन पूर्वाधारको अभावमा झेल्नुपरेका कठिनाइहरू अर्थतन्त्रमा आउने सुधारसँगै क्रमशः सम्बोधन गरिने विश्वास पनि दिलाउँदै प्रधानमन्त्री दाहालले विश्वविद्यालयका अन्य प्राज्ञिक कार्यक्रमहरू व्यवस्थित तुल्याउन सरकारको तर्फबाट गर्नुपर्ने नीतिगत र व्यवस्थापकीय सहयोगमा सहयोग गर्ने बताए ।


प्रतिक्रिया




Top