काठमाडौँ — मधेशी आयोगले सीमा नाकामा गरिब जनतालाई अनावश्यक दुख नदिन सशस्त्र प्रहरीको ध्यानाकर्षण गराएको छ । आयोगका अध्यक्ष विजयकुमार दत्तले तराई–मधेशसँग जोडिएका नेपाल–भारत सीमामा देखा परेका लागूऔषध ओसारपसार, मानव तस्करी, चेलीबेटी बेचविखन जस्ता समस्याहरुलाई न्यूनीकरण गर्न थप संवेदनशील बन्न सचेत गराए ।
तर अपराध नियन्त्रणका नाममा जनतालाई अनावश्यक दुख दिन नहुनेमा समेत संवेदनशील बन्न उनको सुझाव थियो ।
अध्यक्ष दत्तले सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याललाई आयोगको कार्यालयमा बोलाएर सीमानाकाहरुमा गरिब जनताहरुलाई अनावश्यक दुख नदिन ध्यानाकर्षण गराएका हुन् ।
भेटमा अध्यक्ष दत्तले गरिब जनताहरुले भारतबाट दैनिक गुजाराको लागि सामान ल्याउँदा पनि सशस्त्र प्रहरीले दुख दिएको गुनासो आइरहेको बताएका थिए । ’गरिब जनताले सीमा नाकाबाट थोरै–थोरै सामान ल्याएर दैनिक गुजारा चलाइरहेका हुन्छन् । तर प्रहरीले उनीहरुको त्यस्तो बाध्यतामाथि पनि निगरानीको नाममा अनावश्यक दुख दिने गरिरहेको छ, यस्तो नहोस् भन्ने हाम्रो आग्रह छ,’ अध्यक्ष दत्तको भनाइ थियो ।
अध्यक्ष दत्तले मानवअधिकारको रक्षा गर्नु सबैको दायित्व रहेको भन्दै त्यसमा संवेदनशील भइदिन प्रहरीलाई आग्रह गरेका हुन् ।
त्यस्तै, सशस्त्र प्रहरीमा मधेशी समुदायको पहुँच बढाउन समेत आयोग र सशस्त्र प्रहरीबीच समन्वयात्मक भूमिका आवश्यक रहेकोबारे छलफल भएको थियो । भेटघाटमा महानिरीक्षक अर्यालले सशस्त्र प्रहरीले आयोगसँग सहकार्य गरी सीमासँग जोडिएका गाउँहरुमा युवा सशक्तिकरणको लागि सीपमूलक तथा सचेतनामुलक कक्षाहरु सञ्चालन गरिने प्रतिबध्ता व्यक्त गरेका थिए ।
प्रतिक्रिया