असारदेखि ठप्प भएको बिजुली तार भूमिगत गर्ने काम सुरु

न्यूजडेस्क     २०८० माघ १३, शनिबार १५:३३ मा प्रकासित


 

काठमाडौँ — गत असारदेखि ठप्प भएको बिजुली तार भूमिगत गर्ने काम सुरु भएको छ । झन्डै ६ महिना ठप्प बनेको काम नेपाल विद्युत् प्राधिकरणले सडक विभागसँग सम्झौता गरेसँगै सुरु भएको हो । प्राधिकरणले ०७६ फागुनबाट काठमाडौं उपत्यकालगायत क्षेत्रमा बिजुली तार भूमिगत गर्ने काम सुरु गरेको थियो । ०७९ साउनसम्म काम सक्ने लक्ष्य लिए पनि विभागले सडक खन्न अनुमति नदिँदा गत असारदेखि मंसिरसम्म ठप्प भएको प्राधिकरणले जनाएको छ ।

नगरपालिकाअन्तर्गतका सडकमा भने विद्युत् तार भूमिगत गर्ने काम भइरहेको प्राधिकरणले बताएको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म मध्य तथा उत्तर वितरण प्रणालीको भौतिक प्रगति ७४ र खर्च ७४.३५ प्रतिशत छ । काठमाडौं उपत्यका पूर्व तथा दक्षिणको भौतिक प्रगति ७०.४९ प्रतिशत छ । काठमाडौं उपत्यका पश्चिमको ७०.३३ प्रतिशत छ । काठमाडौं उपत्यका ललितपुर तथा भक्तपुरको भौतिक प्रगति २७.९८ प्रतिशत छ । भरतपुर–पोखराको भौतिक प्रगति ४३.६३ प्रतिशत छ ।

स्वीकृतिका लागि सडक विभागलाई विवरण पठाइसकिएकाले अब काम सुरु भइसकेको प्राधिकरणका आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधानले जनाए ।

पहिलो खनेको माटोले पुर्ने सम्झौता भए पनि अब खनेको ठाउँमा नयाँ माटो ल्याएर पुर्नुपर्ने नयाँ सम्झौता भएको प्रधानले जनाए । पहिलो चरणमा महाराजगन्ज क्षेत्रको तार भूमिगत काम गर्ने सुरु भएको र त्यस क्षेत्रमा ७० प्रतिशत सकिएको प्रधानको भनाइ छ ।

सहरको सौन्दर्य बढाउन तथा हावाहुरीबाट बिजुलीको पोलमा हुने क्षति न्यूनीकरण गर्न तार भूमिगत गर्न सुरु गरेको हो । काठमाडौं उपत्यका वितरण प्रणाली सुदृढीकरण परियोजनाको काम औपचारिक रूपमा ०७६ फागुनबाट सुरु भएको हो । पहिलो, दोस्रो र तेस्रो प्याकेज गरेर तीन चरणमा उपत्यकाभित्रका सबै तार भूमिगत गरेर विद्युत् पोल हटाउने प्राधिकरणको योजना छ । यो परियोजनाअन्तर्गत विद्युत् वितरण प्रणालीसँगै इन्टरनेट, टेलिफोन, केबल टेलिभिजन लाइन तथा अप्टिकल फाइबरलगायत संरचनालाई भूमिगत गर्ने काम प्राधिकरणले पाएको छ ।

 


प्रतिक्रिया




Top