सर्लाहीबाट आठ जना जुवाडे पक्राउ

न्यूजडेस्क     २०८० माघ १३, शनिबार १४:१९ मा प्रकासित


सर्लाही — सर्लाहीको हरिवनबाट शुक्रबार साँझ प्रहरीले आठ जना जुवाडे पक्राउ गरेको छ । हरिवन नगरपालिका– ५ घुर्कोलीस्थित सियाराम महतोको खेतमा पानी पटाउने मोटर राख्ने एक कोठे पक्की घरमा जुवातास खेलिरहेका जुवाडेलाई इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा हरिवन नगरपालिका–५ का ४५ वर्षीय सियाराम महतो, ३८ वर्षीय मोहन फुयाल, हरिवन नगरपालिका–६ का ३४ वर्षीय अशोककुमार राई, ३९ वर्षीय हर्कमान तामाङ, २६ वर्षीय साजनकुमार मोक्तान र ३५ वर्षीय श्रवणकुमार सिंह छन् । यस्तै हरिवन नगरपालिका–७ का ५० वर्षीय निर्मलकुमार घिसिङ र लालबन्दी नगरपालिका–७ का ५२ वर्षीय श्रीनारायण साह रहेका छन् ।

जुवाको खालबाट ३८ हजार ४ सय १० रुपैयाँ, आठ थान मोबाइल, एक थान चेक बुक, नौ बुक तास बरामद भएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए ।

यस क्षेत्रमा पेसेवर जुवाडेहरूले नियमितरूपमा जुवा खेल्दै आएका थिए । दिनहुँ नयाँ नयाँ ठाउँ परिवर्तन गरेर जुवा खेल्ने गरेका कारण प्रहरीको नियन्त्रणमा आउन सकेको थिएन । प्रहरीले सुराकीको आधारमा उनीहरूलाई पक्राउ गर्न सफल भएको हो ।

 


प्रतिक्रिया




Top