मधेस प्रदेशले प्रधानमन्त्री कपमा गण्डकी प्रदेशलाई एक सय ४५ रनको विशाल अन्तरले हरायो

न्यूजडेस्क     २०८० माघ ११, बिहीबार २०:०१ मा प्रकासित


काठमाडौँ । आफ्ना ओपनर ब्याट्सम्यान अनिल शाहले उत्कृष्ट शतकीय पाली खेलेपछि मधेस प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको बिहीबारको खेलमा गण्डकी प्रदेशलाई एक सय ४५ रनको विशाल अन्तरले हराएको छ ।

जारी प्रतियोगितामा आठ खेल खेलेको मधेस प्रदेशको यो पाँचौँ जित हो । तीन खेलमा मधेस प्रदेश पराजित भएको छ । हालसम्म ६ खेल खेलेको गण्डकी प्रदेशको भने यो चौथो हार हो । दुई खेलमा गण्डकी प्रदेश विजयी भएको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको मधेस प्रदेशले निर्धारित ओभरमा पाँच विकेट गुमाएर तीन सय ३५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको गण्डकी प्रदेशले भने ३९.५ ओभरमा अलआउट हुनुअघि एक सय ९० रनमात्र बनाउन सक्यो ।

मधेस प्रदेशले बिहीबार बनाएको रन कुनै पनि टोलीले जारी प्रतियोगितामा तयार पारेको सर्वाधिक योगफल पनि हो । यसअघि मधेस प्रदेशविरुद्धको खेलमा त्रिभुवन आर्मी क्लबले तीन सय २० रन बनाएको थियो ।

जारी प्रतियोगितामा हालसम्म कुनै पनि टोलीले तीनपटक मात्र तीन सय वा त्योभन्दा बढी रन बनाउन सकेका छन् । त्यसमध्ये दुईपटक त मधेस प्रदेशले नै यस्तो उपलब्धि हासिल गरेको छ । यसअघि मधेस प्रदेशले सुदूरपश्चिमविरुद्धको खेलमा पनि नौ विकेट गुमाएर तीन सय १९ रन बनाएको थियो ।

 


प्रतिक्रिया




Top