मधेश प्रदेशकै उच्च धनराशिको प्रथम वीरगन्ज गोल्डकपको सम्पूर्ण तयारी पूरा आज आयोजक र भारतको एफसीआई नर्थ जोन भिड्ने

सत्य मिरर्     २०८० कार्तिक १८, शनिबार ०२:५७ मा प्रकासित


वीरगन्ज — मधेश प्रदेशकै उच्च धनराशिको प्रथम वीरगन्ज गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको छ । शनिबार कात्तिक १८ गतेदेखि आयोजना हुने गोल्डकपको विजयी टोलीले ११ लाख ११ हजार ११ सय रुपैयाँ र उपविजेताले ५ लाख ५५ हजार ५ सय रुपैयाँ पुरस्कार राशी पाउने छन् ।

शनिबार हुने पहिलो खेलमा आयोजक भेट्रान्स सिटी क्लब वीरगन्ज र भारत नोयडाको एफसीआई नर्थ जोन फुटबल टीमले प्रतिस्पर्धा गर्ने भएका छन् । वीरगन्ज गोल्डकपमा भारतका दुई र नेपालका ६ वटा गरि ८ वटा टीमले प्रतिस्पर्धा गर्ने छन् ।

लामो समयदेखि खेलकुदको गतिविधि सुस्त भएकाले गोल्डकपको आयोजना गर्न लागिएको आयोजक भेट्रान्स सिटी क्लबका अध्यक्ष सविन बस्नेतले जनाए । मधेश प्रदेशकै सर्वाधिक धनराशी भएको वीरगन्ज गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको छ, अध्यक्ष बस्नेतले भने, राष्ट्रिय र अन्तराष्ट्रिय स्तरका ख्याती प्राप्त क्लबहरुले गोल्डकपमा प्रतिस्पर्धा गर्ने भएका छन् । त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, संकटा क्लब काठमाडौँ, एपीआई पावर चर्च ब्वाइज युनाइटेड नवलपरासी, झापा एफ.सी., क्लाईभ हाउस दमदम कोलकाता, एफसीआई नर्थ जोन फुटबल टीम नोयडा र आयोजक भेट्रान्स सिटी क्लबले गोल्डकपमा प्रतिस्पर्धा गर्ने छन् । वीरगन्जको आदर्शनगर खेल मैदानमा दिउँसो २ बजेदेखि प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएका छन् ।

वीरगन्ज महानगरपालिका मुख्य प्रायोजक रहेको छ । गोल्डकपको अनुमानित लागत ८० लाख रुपैयाँ रहेको क्लबका महासचिव पंकज श्रेष्ठले बताए । वीरगन्जको आदर्शनगर रंगशाला जीर्ण भएकाले आदर्शनगर रंगशालामा अस्थाई प्याराफिट निर्माण गरी गोल्डकप आयोजना गर्न लागिएको क्लबका महासचिव पंकज श्रेष्ठले जनाए ।


प्रतिक्रिया




Top