आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानको लगातार तेस्रो जित

सत्य मिरर्     २०८० कार्तिक १७, शुक्रबार १६:२२ मा प्रकासित


काठमाण्डौ – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानले लगातार तेस्रो जित निकालेको छ । आज शुक्रवार लखनउमा भएको खेलमा अफगानिस्तानले नेदरल्यान्ड्सलाई ७ विकेटले हरायो ।

नेदरल्यान्डसले दिएको १ सय ८० रनको लक्ष्य अफगानिस्तानले ३१ ओभर ३ बलमा ३ विकेट गुमाएर भेटायो । अफगानिस्तानका कप्तान हश्मतुल्लाह शाहिदीले नटआउट ५६ रन बनाए । यस्तै रहमत शाहले ५२ रन बनाए । बलिङतर्फ नेदरल्यान्ड्सका लोगन भाव बीक, रोल्फ भान डेर मेरवे र सकिब जुल्फिकरले समान १ विकेट लिए ।

यसअघि लखनउमा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्स ४६ ओभर ३ बलमा १ सय ७९ रनमा समेटियो । नेदरल्यान्ड्सका साइब्रान्ड एन्गेलब्रेक्टले सर्वाधिक ५८ रन बनाए । यस्तै म्याक्स ओडाउडले ४२ र कोलिन एकरमानले २९ रन जोडे । बलिङतर्फ अफगानिस्तानका मोहम्मद नाबीले ३ र नूर अहमदले २ विकेट लिए ।

यो जितसँगै ७ खेलमा ८ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । अफगानिस्तानको सेमिफाइनल पुग्ने सम्भावना कायमै छ । नेदरल्यान्ड्स उति नै खेलमा ४ अङ्कसहित आठौँ स्थानमा छ ।


प्रतिक्रिया




Top