काठमाडौँ — दसैं सकिएलगत्तै प्याजको भाउ उकालो लाग्न थालेको छ । असोज ३० मा औसत प्रतिकिलो ७६.४० रुपैयाँमा बिक्री भएको प्याज कात्तिक १४ (मंगलबार) प्रतिकिलो १२२.५० रुपैयाँ पुगेको छ । दुई सातामै प्याज ६०.३४ प्रतिशतले बढेको हो । यो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्य हो ।
सामान्य दिनमा भारतबाट दैनिक करिब ८० टन भित्रिन्छ । पछिल्लो समय प्रतिकिलो ४० देखि ५० टन हाराहारीमा भित्रिएको छ । भारतले निर्यातमा गरेको कडाइ मात्र होइन, भन्सार मूल्यांकन पनि बजारमा अभाव र मूल्य बढ्नुको अर्को कारण रहेको व्यवसायी बताउँछन् । भन्सार मूल्यांकन दरमा देखिएको समस्याले प्याज आयातमा केही कठिनाइ भएको व्यवसायीको भनाइ छ ।
पछिल्लो समय भारतीय बजारमा मूल्य बढेको छ । गत आइतबारदेखि लागू हुने गरी भारतले प्याज निर्यात गर्दा प्रतिकिलो भारु ६७ तोकेको नेपाल कृषि उपज आलु प्याज आयात–निर्यात तथा थोक विक्रेता संघले जनाएको छ । तर यहाँ भन्सार मूल्यांकन दर ४५ रुपैयाँ छ ।
प्याज कञ्चनपुरदेखि झापासम्म उत्पादन हुने गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । ती क्षेत्रमा करिब तीन लाख टन उत्पादन हुन्छ । तर स्वदेशी उत्पादनले स्वदेशकै माग तीन महिना पनि धान्दैन । यसअघि सरकारले आर्थिक वर्ष ०८०÷८१ को बजेटमार्फत प्याजमा भ्याट लगाएपछि भ्याट खारेजी माग गर्दै केही व्यापारीले प्याज आयात गर्न इन्कार गरेका थिए । त्यसको फाइदा उठाउँदै बजारमा कालोबजारी सुरु भएको थियो ।
०८० भदौ २ मै पनि भारतको वित्त मन्त्रालयले एक सार्वजनिक सूचना जारी गर्दै आगामी डिसेम्बर अन्त्यसम्म प्याजमा ४० प्रतिशत निर्यात कर लगाउने निर्णय गरेको छ । भारतले निर्यात कर लगाउने निर्णयले नेपाली बजारमा प्रत्यक्ष असर परेको थियो । लगत्तै खुद्रा मूल्य किलोकै ९० देखि एक सय रुपैयाँसम्ममा बिक्री भएको थियो । आयात नै नभएको प्याजमा पनि व्यवसायीले मूल्य बढाएका थिए । सरकारले हस्तक्षेप गरेर केही व्यापारीलाई कारबाही गरे पनि मूल्य केही कम भएको थियो । पछिल्लो समय फेरि मूल्य बढ्न थालेको हो ।
प्याजसँगै गोलभेंडाको मूल्य पनि अकासिएको छ । समितिको विवरणअनुसार असोज ३० मा औसत मूल्य २८.६० रुपैयाँ रहेको गोलभेंडा (लोकल) कात्तिक १४ मा प्रतिकिलो ४५ रुपैयाँ पुगेको छ । टनेलको गोलभेंडा (सानो) को मूल्य प्रतिकिलो ३७.४० रुपैयाँबाट बढेर ५० रुपैयाँ पुगेको छ । भारतीय गोलभेंडाको मूल्य पनि बढेको उल्लेख छ । होलसेलमा मूल्य बढ्दा खुद्रामा थप वृद्धि भएको हो ।
प्रतिक्रिया