आज नवरात्रको सातौं दिन,फूलपाती पर्व मनाईंदै

सत्य मिरर्     २०८० कार्तिक ४, शनिबार ०१:५६ मा प्रकासित


काठमाडौं । आज नवरात्रको सातौं दिन अर्थात् सप्तमी, घरघरमा शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाईंदैछ ।

हरेक वर्ष दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन फूलपाती पर्व मनाइन्छ । फूलपातीको दिन हरेक घर‚ दशैंघर तथा शक्तिपीठमा फूलपाती भित्र्याउने र तिनका पत्रले देवीहरूलाई स्नान गराउने परम्परा छ । आश्विन शुक्ल सप्तमीको अवसरमा घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दशैंघरमा आज फूलपाती भित्र्याइँदैछ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआराधना गरिएको दशैंघर अथवा पूजा कोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ । नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौवटी देवीको प्रतीकका रुपमा फूलपाती भित्र्याएपछि नौदेवीको विधिपूर्वक पूजा आराधना गरिन्छ ।

यसरीनै जनकपुरधाम सहित तराई मधेसको जिल्लाहामा तामझामका साथ आज बेलतोरी बिधी मनाइन्छ । षष्ठी तिथिका दिन बेलतोरी अर्थात् माता भगवतीको आँखा बनाउन प्रयोग गरिने बेललाई छेक्ने गरिन्छ । सोही बेललाई तोडेर भित्र्याउने कार्यलाई बेलतोरी भन्ने गरिन्छ ।

नवरात्रिको सातौं दिनलाई फूलपाती, आठौं दिनलाई महाअष्टमी, नवौं दिनलाई महानवमी एवं दशौं दिनलाई विजया दशमी भनिन्छ र यी दिनहरूको महत्व अधिक रहेको पाइन्छ ।

नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गरिन्छ ।नौ दिनसम्म पूजाराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।


प्रतिक्रिया




Top