आज बडा दशैँको छैटौं दिन, कात्यायिनी भगवतीको पुजा अर्चना गरि मनाइदै

सत्य मिरर्     २०८० कार्तिक ३, शुक्रबार ०२:३६ मा प्रकासित


आज नेपालीहरुको महान पर्व बडा दशैँको छैटौं दिन । आज देशभरका बिभिन्न शक्तिपिठ तथा घरघरमा कात्यायिनी भगवतीको पुजा अर्चना गरि मनाइदैछ । नवदुर्गाका ९ वटा स्वरूपहरू मध्ये अष्टमातृका भगवतीको छैटौं शक्तिका रूपमा प्रादुर्भाव भएकी कात्यायनी भगवतीको पूजा गरिन्छ ।

आजको दिन कात्यायिनी भगवतीको पुजा गर्नले रोग, शोक, दुख, दरिद्र जस्ता संकट नाश भएर जाने र मानिसहरु नया बुद्धि विवेकका साथ प्रगतितिर अगाडि बढ्ने धार्मिक बिश्वास रहेको छ । हिन्दु धर्मशास्त्रमा उल्लेख भए बमोजिम प्राचीन युगमा कात्या नाम गरेका महर्षिका छोरा कात्यायान ऋषिको छोरीको रूपमा भगवतीले जन्म लिएको हुनाले उनको नाम कात्यायनी रहन गएको कथन देवीभागवत पुराणमा उल्लेख छ । कत नामक एउटा ऋषि थिए ।

उनको छोराको रुपमा ऋषि कात्यले जन्म लिए । यिनै कात्यका गोत्रमा विश्वप्रसिद्ध महर्षि कात्यायनको जन्म भयो । उनी भगवती पराम्बाको उपासना गर्दै धेरै वर्षसम्म कठिन तपस्या गरेका थिए । भगवती उनको घरमा पुत्रीको रूपमा जन्म लिऊन् भन्ने उनको इच्छा थियो । लामो समयको तपस्या पछि भगवतीले उनको यो प्रार्थना स्वीकार गरिन् र उनको घरमा जन्म लिइन् ।

यसै कारण उनको नाम कात्यायनी रहन गएको भन्ने शास्त्रिय मान्यता रहि आएको छ । माता कात्यायनीको वर्ण स्वर्ण समान चम्किलो तथा भास्वर छ । यिनी चतुर्भूज रूप धारिणी छिन् । दाहिनेतर्फको माथिल्लो हात अभय मुद्रामा छ तथा तल्लो हात वरमुद्रामा छ । दाहिने तिरको माथिल्लो हातमा तरबार छ भने तल्लो हातमा कमल पुष्प सुशोभित छ ।

नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ । आसुरी शक्तिमाथि दैवी शक्ति र असत्य माथि सत्यको विजयको प्रतीकका रुपमा बडा दशै मनाउने गरिन्छ ।


प्रतिक्रिया




Top