मधेश प्रदेशकै उच्च धनराशिको प्रतियोगिता वीरगन्ज गोल्डकप कात्तिक १८ देखि

सत्य मिरर्     २०८० कार्तिक २, बिहीबार ०२:३९ मा प्रकासित


वीरगन्ज —प्रथम वीरगन्ज गोल्डकप कात्तिक १८ गतेदेखि हुने भएको छ । आयोजक भेट्रान सिटी क्लबले आयोजना गर्न लागेको गोल्डकप मधेश प्रदेशकै उच्च धनराशिको प्रतियोगिता हो । प्रतियोगिताका विजेता टोलीले ११ लाख ११ हजार ११ सय रुपैयाँ र उपविजेताले ५ लाख ५५ हजार ५ सय रुपैयाँ पुरस्कार राशि पाउने छन् । प्रत्येक दिन म्यान अफ दि म्याचसहित विधागत पुरस्कारको समेत व्यवस्था गरिएको छ ।

भेट्रान सिटी क्लबले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा वीरगन्ज गोल्डकपमा भारतका दुई र नेपालका ६ वटा गरी ८ वटा टीमको सहभागिता रहने जनाएको छ । क्लबका वरिष्ठ उपाध्यक्ष रोशन श्रेष्ठले वीरगन्जको आदर्शनगर रंगशालामा हुने प्रतियोगितामा त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस, संकटा क्लब, चर्च ब्वाईज युनाईटेड, झापा एफ सी, क्लाईभ हाउस डम डम कोलकाता, नर्थ जोन फुटबल टिम दिल्ली र आयोजक भेट्रान सिटी क्लबले प्रतिस्पर्धा गर्ने बताए ।

वीरगन्ज महानगरपालिका मुख्य प्रायोजक रहेको छ । गोल्डकपको अनुमानित लागत ८० लाख रुपैयाँ रहेको क्लबका अध्यक्ष सविन बस्नेतले बताए । वीरगन्जको आदर्शनगर रंगशाला जीर्ण भएकाले आदर्शनगर रंगशालामा अस्थाई प्याराफिट निर्माण गरी गोल्डकप आयोजना गर्न लागिएको क्लबका महासचिव पंकज श्रेष्ठले जनाए । रंगशाला जीर्ण हुँदा खेलकुद गतिविधि न्यून भएको उनले बताए ।


प्रतिक्रिया




Top