नेपाल दुई ठूला देश बीचमा रहेको बाघ हो नेपाली कांग्रेसका नेता विलमेन्द्र निधिले बताएका छन् । जनार्दन राय नागर राजस्थान विद्यापीठमा मंगलबार आयोजित नेपाल भारत सम्बन्ध बिषयक प्रवचन कार्यक्रमलाई सम्बोधन गर्दै नेता निधिले भारत र चीनलाई हात्तीको संज्ञा दिदैं नेपाल दुई ठूला देश बीचमा रहेको बाघ हो अभिव्यक्ती दिएका छन् ।
हाम्रो देश स्वाभिमानी मुलुक भएको उल्लेख गर्दै उनले इतिहासमा कहिल्यै कसैको उपनिबेशमा नपरेको स्पष्ट पारे ।भारतको स्वतन्त्रता आन्दोलनमा बीपी कोइराला, सुवर्ण शम्सेर, गणेशमान सिंह, मनमोहन अधिकारी, महेन्द्रनारायण निधि, रामनारायण मिश्र जस्ता नेताहरुले सहयोग गरेको स्मरण गर्दै,त्यसको बदलामा भारतले पनि नेपालको लोकतन्त्र पुनर्बहालीमा सहयोग गरेको निधिले बताए ।
भारतमा लोकतन्त्र सुदृढ भए नेपालको लोकतन्त्रलाई सहयोग पुग्ने र नेपालमा लोकतन्त्र सुदृढ भए भारतको लोकतन्त्रलाई पनि सहयोग पुग्ने उहाको भनाई थियो । आर्थिक नीतिका सन्दर्भमा पनि दुबै देश एकअर्कामा निर्भर भएको उनले बताए ।
छिमेकीका नाताले चीन र भारतसंग नेपालको पुरानो सम्बन्ध भएको उनले चर्चा गरे । निधिले भने, ‘चीनसंग नेपालको मित्रता छ, भारतसंग नाता छ।’ त्रेतायुगमा सीता र रामको बिबाह भएको चर्चा गर्दै निधिले नेपाल भारतीच बेटी रोटीको सम्बन्ध रहेको उल्लेख गरे ।
नेपाललाई भारत बिरोधी देशका रुपमा नबुझ्न नेता निधिले भारतीयहरुलाई आग्रह गरे । नेपालमा भारत बिरोधी कोही पनि नभएको भन्दै उनले नेपालका कम्युनिष्टहरुले समेत भारतमा भूमिगत जीवन बिताएको सन्दर्भ उल्लेख गरे ।
कार्यक्रममा जनार्दन राय नागर राजस्थान विद्यापीठका उपकुलपति शिबसिं सारंगदेवले भारत र नेपालबीचको ऐतिहासिक, सांस्कृतिक, आर्थिक सम्बन्धबारे चर्चा गरेका थिए ।
मंगलबार नेता निधि भूपाल नोवेल विश्वविद्यालयमा आयोजित कार्यक्रममा पनि सहभागी भएका थिए । कार्यक्रममा विश्वविद्यालयका कूलपति शिबसिं सारंगदेवले नेपाल भारतबीचको सम्बन्धलाई थप बलियो बनाई भबिष्यमा सहयोग आदानप्रदानका लागि विश्वविद्यालयका तर्फबाट पहल गर्ने प्रतिबद्धता जनाए ।
प्रतिक्रिया