पानी पर्न थालेसँगै तराईमा राहत

सत्य मिरर्     २०८० असार ६, बुधबार ०६:०२ मा प्रकासित


काठमाण्डौ – पानी पर्न थालेसँगै पश्चिम तराईमा तापक्रम घटेर राहत मिलेको छ । तातो हावा अर्थात् ‘लू’ चल्न छोडेको छ ।

दुई हप्ताभन्दा लामो समयसम्म चलेको तातो हावाका कारण पश्चिम तराईको जनजीवन प्रभावित भएको थियो ।

पश्चिम तराईका सबैजसो ठाउँमा अधिकतम तापक्रम घट्न थालेको छ । अधिकतम तापक्रम झण्डै १० डिग्री सेल्सियससम्मले घटेको छ ।

गएको १ गते ३९ दशमलव ५ डिग्री सेल्सियस रहेको दीपायलको अधिकतम तापक्रम ३० दशमलव ९ डिग्री सेल्सियसमा झरेको छ ।

यस्तै, भैरहवाको अधिकतम तापक्रम ८ डिग्री सेल्सियसले घटेको छ । गएको १ गते अधिकतम तापक्रम ४३ दशमलव ३ डिग्री सेल्सियस रहेको भैरहवाको तापक्रम ३५ दशमलव ३ डिग्री सेल्सियसमा झरेको छ ।

त्यस्तै, सिमराको अधिकतम तापक्रम ३५ डिग्री सेल्सियसमा झरेको छ भने नेपालगञ्जको ३६ दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ । गएको १ गते सिमरा र नेपालगञ्जको अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस थियो ।

अधिकतम तापक्रम ४० दशमलव ५ डिग्री सेल्सियस रहेको जनकपुरको तापक्रम ३७ दशमलव ४ डिग्री सेल्सियसमा झरेको छ भने धनगढीको ३७ दशमलव ५, वीरेन्द्रनगरको ३४ र दाङ घोराहीको अधिकतम तापक्रम ३५ दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ ।

पश्चिमी क्षेत्रमा मनसुन प्रवेश गरेको छैन । तर त्यहाँ अरब सागरमा विकसित भएको बिपरजोय आँधीको प्रभावले केही ठाउँमा हल्का वर्षा गराएको छ भने धेरैजसो ठाउँमा बादल लाग्न थालेको मौसमविद् समिर श्रेष्ठले बताउनुभयो ।


प्रतिक्रिया




Top