कोरोना सङ्क्रमण बढेसँगै खोप लगाउनेहरुको सङ्ख्या बढ्यो

सत्य मिरर्     २०८० बैशाख ३, आईतवार ११:१९ मा प्रकासित


काठमाण्डौ – कोरोना सङ्क्रमण बढेसँगै काठमाण्डौ उपत्यकाका अस्पतालहरुमा कोरोनाविरुद्धको खोप लगाउनेहरुको सङ्ख्या बढ्न थालेको छ ।

पछिल्लो केही हप्तादेखि कोरोना सङ्क्रमितहरुको सङ्ख्या बढिरहेको छ । कोरोना सङ्क्रमित बढ्न थालेसँगै अस्पतालहरुमा कोभिड–१९ विरुद्धको खोप लगाउनेहरुको सङ्ख्या बाक्लिएको हो।

केही दिनयता नेपालमा दैनिक एक सयको हाराहारीमा सङ्क्रमितहरु बढिरहेका छन् । यस बीचमा केही नागरिकहरुको कोरोना भाइरस सङ्क्रमणका कारण ज्यान गएको छ । तर कोरोना भाइरसको सङ्क्रमणका कारण निधन हुनेहरुमा भने ज्येष्ठ नागरिक र दीर्घरोगीहरु मात्रै रहेका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेरबहादुर पुनले बताउनु भयो ।

उहाँले कोरोना भाइरस बढिरहनुको कारण अहिलेको लागि ओमिक्रोन भेरियन्टको सबभेरियन्टहरु रहेको बताउनु भयो । उहाँले नेपालमा अहिले ९ वटा सबभेरियन्टहरु फेला परेको र जसमा आधाभन्दा धेरै नयाँ प्रजातिका रहेको बताउनु भयो ।

डा. पुनले नयाँ भेरियन्टमध्ये पनि एक्सबीबी १ दशमलव १६ समुदायमा बढी सङ्क्रमण फैलाउने किसिमको रहेको जानकारी दिनुभयो । उहाँले यो सब भेरियन्टले नेपालमा पछिल्लो समय ४२ प्रतिशत सङ्क्रमण फैलाइरहेको बताउनु भयो ।

कोरोना सङ्क्रमण बढेसँगै अहिले काठमाण्डौको शुक्रराज अस्पतालमा पनि कोरोना सङ्क्रमितहरु बढ्दै गएका छन् । अस्पतालमा कोरोनाका लक्षण देखिएकाहरु स्वास्थ्य जाँच गर्न आइरहेको र अस्पतालमा भर्ना हुने र उपचार गर्नेहरु बढेको अस्पतालले जनाएको छ।


प्रतिक्रिया




Top