एयर इन्डियाको विमानमा यात्रीले मच्चाए उत्पात, चालक दलले हात–खुट्टा बाँधेर बेहोस हुने इन्जेक्सन दिइयो

सत्य मिरर्     २०७९ फाल्गुन २८, आईतवार ०८:५७ मा प्रकासित


भारतीय मूलका एक अमेरिकी नागरिकले एयर इन्डियाको विमानमा उत्पात मच्चाएका छन् । करुणाकान्त द्विवेदी नामका यी व्यक्तिलाई मुम्बईको प्रहरीले पक्राउ गरेको छ । एयर इन्डियाकी चालक दलकी वरिष्ठ सदस्य शिल्पा मिश्राले द्विवेदीविरुद्ध जुन एफआईआर दर्ता गराएकी छिन् त्यसको आरोप निकै गम्भीर छ । शिल्पाका अनुसार एयर इन्डियाको एआई १३० विमानले १० मार्चमा लन्डनको समयानुसार राती साढे ९ बजे मुम्बईका लागि उडान भ¥यो तर केही बेरमा शौचालयबाट धुवाँ आएका कारण अलार्म बज्न थाल्यो ।


भारतीय सञ्चार माध्यमका अनुसार शिल्पाले चालक दलका अन्य सदस्यमार्फत शौचालयको ढोका खोल्दा द्विवेदी नामका यात्री चुरोट पिइरहेका थिए । द्विवेदीलाई यस्तो गर्न रोक लगाइयो र यसबारे पाइलटलाई पनि जानकारी दिइयो । सबैले आरोपीलाई सम्झाउन थाले तर उनले चालक दलका सदस्यमाथि दुर्व्यवहार गर्न थाले । चालक दलका सदस्यले उनको चुरोट र लाइटर लिए र उनलाई सिटमा राखिदिए ।


मामिला यतिमा मात्रै सीमित भएन । द्विवेदी केही बेरपछि अचानक उठे र विमानको ढोका खोल्न कोसिस गरे । एक यात्रीले उनलाई रोक्ने कोसिस गर्दा द्विवेदीले उनलाई कुटपिट गर्न थाले । उनीमाथि मुक्का, लात्ती बर्साउन थाले । उनको यस्तो व्यवहारले सबै यात्री हैरान भएको स्रोतले बताएको छ ।


चालक दलका सदस्य पनि उनको व्यवहारले हैरान भए । उनीहरुले अन्य यात्रीसँग मिलेर द्विवेदीलाई समाते र उनको हात–खुट्टा बाँधेर सिटमा बसालिदिए । तरपनि द्विवेदीले उडिरहेको विमानमा हात खुट्टाले हान्न थाले । यस्तोमा विमानमा भएका चालक दलका एक सदस्य, जो डाक्टर थिए, उनीमार्फत द्विवेदीलाई बेहोस हुने इन्जेक्सन दिइयो । ११ मार्चमा विमान मुम्बई विमानस्थल पुगेपछि चालक दलका सदस्य र सुरक्षाकर्मीले द्विवेदीलाई सहार विमानस्थल लगे । त्यहाँ उनीमाथि एफआईआर दर्ता भयो र प्रहरीले उनलाई पक्राउ ग¥यो ।


प्रतिक्रिया




Top